लकडाउनले धरानको राजस्व संकलन घट्यो

  • प्रकाशित मितिः असार 9, 2077
  • 203 पटक पढिएको
  • केदार बस्नेत

धरान । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नकालागी चैतदेखि जारी लकडाउनका कारण राजस्व संकलन ह्वात्तै घटेको छ ।
चालु आवको १० महिनामा धरान उपमहानगरपालिकाले लक्ष्यको आधा राजस्व समेत संकलन गर्न सकेन । जसले चालु आर्थिक वर्षको आयव्ययमा ठूलो असर पर्नेछ । धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ४२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, तथ्यांकअनुसार यो अवधिमा जम्मा २० करोड ५० लाख ५० हजार २४२ रुपैयाँ मात्रै संकलन भएको छ ।
लक्ष्यअनुसार राजस्व नउठ्ने भएपछि धरानको विकास निर्माण कार्य प्रभावित हुने देखिएको छ । राजस्वको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको घरजग्गा रजिष्ट्रेशन दस्तुर वैशाख सम्ममा लक्ष्यको एक तिहाइ मात्रै संकलन भएको छ । घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत यसवर्ष १७ करोड रुपैया संकलन गर्ने लक्ष्य लिएको धरान उपमहानगरपालिकाले वैशाख मसान्तसम्ममा ६ करोड ३४ लाख ६७ हजार १८९ रुपैया (३७.३३ प्रतिशत) मात्रै संकलन गरेको अवस्था छ । त्यस्तै एकिकृत सम्पत्ति कर, नक्सापास दस्तुर, सिफारीज दस्तुर भने ५० प्रतिशत भन्दा बढी सकंलन भएपनि त्यसले लक्ष्य भेट्टाउन नसक्ने निश्चित छ । विश्वव्यापी कोरोना महामारीको असर नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दी चैत ११ गतेदेखि जेठ मसान्तसम्म कायम रह्यो भने अहिले पनि लगभग बन्दाबन्दीकै अवस्थामा छ । मुलुकको आर्थिक क्रियाकलाप प्रायः ठप्प छ । अत्यावश्यक वस्तु र सेवाबाहेक अन्य आर्थिक क्रियाकलाप सुरु नहुँदा राजस्व उठ्न सकेको छैन ।
चैत भन्दा अगाडी पनि धरान उपमहानगरपालिकाले लक्ष्य अनुसार राजश्व उठाउन सकेको थिएन । चैत ११ देखि अनिवार्य रूपमा लकडाउन सुरु भएपछि राजस्वमा लक्ष्य र असुलीबीचको दूरी बढेको छ ।
यसैवर्ष धरान उपमहानगरपालिकाले उपनिर्वाचन मार्फत् मेयर निर्वाचित ग¥यो । नेकपाको नेतृत्वमा रहेको धरान उपमहानगरपालिकाले लगाएको करको दर उच्च भएको भन्ने प्रचार गरेर नेपाली कांग्रेसका तिलक राईले मेयरको चुनाव जिते । कांग्रेसले चुनाव जितेपछि कर घट्छ भन्ने मानसिकता आम नागरिकमा परेकोले पनि राजश्व संकलनमा कमि भयो ।

table
धरान उपमहानगरपालिकाले बैशाख मसान्तसम्म संकलन गरेको राजश्व । स्राेतः धरान उपमहानगरपालिका

विकास निर्माणको कार्य प्रभावित
लक्ष्य अनुरुप राजश्व संकलन नहुँदा धरान उपमहानगरपालिकाले सञ्चालन गर्ने विभिन्न विकास निर्माणका योजनाहरु प्रभावित हुने भएका छन् । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ९० करोड ४३ लाख १३ हजार ८३२ रुपैया चालु खर्चकालागी विनियोजन गरेको थियो भने १ अर्ब ८ करोड ७६ लाख ९१ हजार ८८७ रुपैया पूजीगत खर्चकालागी विनियोजन गरेको थियो । तर चालु खर्च वैशाख मसान्तसम्म ५३ करोड ५० लाख ८४ हजार ६०५ रुपैया (५९.१७ प्रतिशत) खर्च गरिसकेको छ भने पूजीगत खर्च जम्मा ३७ करोड ३ लाख ३१ हजार ७७ रुपैया (३४.०५ प्रतिशत) मात्रै खर्च गर्न सकेको छ । बजेट बिनियोजन गर्दा चालु खर्च भन्दा पूजीगत खर्चलाई बढी रकम छुट्याएको भएपनि कार्यान्वयन गर्दा पूजीगत खर्च भन्दा बढी चालु खर्च बढी भएको छ ।
कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले लकडाउनको घोषणा ग¥यो । जसले गर्दा अधिकांश श्रमिक मजदुरलाई हातमुख जोड्न नै धौ धौ भयो । संघिय सरकारको नीति अनुरुप स्थानीय सरकारहरुले राहत बाडे । धरान उपमहानगरपालिकाले पनि विभिन्न शिर्षकमा छुट्याएको रकमहरु रकमान्तर गरेर धरानबासीलाई राहत वितरण ग¥यो । जसले गर्दा विकास निर्माणमा छुट्याएका रकम र विभिन्न तालिम, गोष्ठि लगायतमा छुट्याएको रकम समेत कोरोनाबाट सिर्जित संकटमा विपन्न वर्गलाई राहतको लागी वितरण गरियो ।
राजश्व परामर्श समितिको संयोजक समेत रहनुभएको धरान उपमहानगरपालिका उपमेयर मञ्जु भण्डारीले लकडाउनका कारण राजश्व संकलनमा कमी आएको भन्दै जसले गर्दा आगमी वर्षको बजेट निर्माण गर्न नै समस्या परेको बताउनुभयो । उहाँले राजश्व संकलनको कमीले गर्दा समग्र विकास योजनालाई नै प्रत्यक्ष रुपमा प्रभावित गर्ने बताउनुभयो । धरान उपमहानगरपालिकाका बरिष्ठ राजश्व, पर्यटन तथा सूचना अधिकृत खगेन्द्र प्रसाद खतिवडाका अनुसार यसवर्ष लकडाउनका कारण खोला ठेक्का लाग्न सकेन । टेण्डर आह्वान भइ २ करोड ९५ लाख रुपैयामा स्विकृत भएपनि सम्झौता गर्ने बेलामा लकडाउन हुँदा सम्झौता नै हुन पाएन । जसले गर्दा उपमहानगरको २ करोड ९५ लाख आम्दानी गुम्न पुग्यो । गतवर्ष नक्सा पास दस्तुरबाट ३ करोड ३० लाख भन्दा बढी राजश्व संकलन भएपनि यसवर्ष १ करोड कम मात्र राजस्व उठ्ने देखिएको छ । त्यस्तै घर बहाल कर गत वर्ष २ करोड ६ लाख बढी उठेको थियो । यसवर्ष घरबहाल करको क्षेत्र विस्तार तथा चुहावट नियन्त्रण गरी ३ करोड ६० लाख उठाउने लक्ष्य राखिएको भएपनि त्यसको आधा भन्दा बढी घरबहाल कर नउठ्ने अवस्था छ ।
धरान उपमहानगरपालिकाले राजश्व संकलनको लक्ष्य नै बढी राखेकोले पनि राजश्व संकलन कमि भएको जस्तो देखिएको डा. राजेन्द्र शर्माको बुझाइ छ । उहाँले राजस्व संकलन कार्यलाई लकडाउनले प्रभावित पारेको बताउनुभयो । बजारबाट उठ्ने बहाल बिटौरी करदेखि, सिफारीस दस्तुर, निवेदन दस्तुर जस्ता आम्दानी गुमेको भन्दै अब आउने बजेटलाई केन्द्रिकृत गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले वडा वडामा थोरै थोरै बजेट दिएर नगरका गौरबका योजनालाई सम्पन्न गर्न समेत उपमहानगरपालिकाको नेतृत्वलाई सुझाव दिनुभएको छ ।

(धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालित लेखनवृत्ति कार्यक्रमका लागी तयार पारीएको फिचर)


धरानमा कोरोना मास टेष्टिङको रिजल्ट आउदै, आज थपिए २ संक्रमित

धरान । धरानमा आज फेरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय

वीपी प्रतिष्ठानको जग्गामा व्यापारीको चलखेल

कडाभन्दा कडा आन्दोलनमा उत्रने तरुण र नेविसंघको चेतावनीधरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी

विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभि